नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै

  आइतबार १६, असार २०८१ ०७:०४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुदैछ । महाधिवेशन आजदेखि २० गतेसम्म कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

महाधिवेशनमा भाग लिन देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि काठमाडौं आइपुगेका छन् । समाजवादीले महाधिवेशनमा साझा दस्ताबेज पेश गर्ने नेताहरुबीच सहमति भइसकेको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ त्यस्तै, २१ पदाधिकारीमा सम्मानित नेता र वरिष्ठ नेता चयन गर्ने अध्यक्ष माधव नेपालले बताए । पार्टीको केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यले मात्र पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसै गरी त्यसै गरी पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखापरीक्षण कमिटी र केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्न केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा पार्टीको संगठित सदस्य भई कम्तीमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेका व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने छन् ।

महिला, दलित, सीमान्तकृत जनजाति र अपाङ्गता भएकाको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेका व्यक्ति मात्र उम्मेदवार बन्न योग्य हुने जनाइएको छ ।

महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ ।

clock आइतबार १६, असार २०८१ ०७:०४

प्रतिक्रिया