परशुराममा लागू भयो छोरी–बुहारी कार्यक्रम, १९ जनाले छात्रवृत्ति

  शुक्रबार १४, असार २०८१ ११:०१

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाले छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत यो वर्ष १९ जनाको पढाइ खर्च व्यहोरेको छ।

नगरपालिकाले आर्थिक अभावका कारण बीचमै छाड्ने महिलाहरूलाई पढाइमा निरन्तरता दिन सहज होस् भन्ने उद्धेश्यले पहिलो पटक छोरी—बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको हो।

प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन पनि यो कार्यक्रमको लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। यो वर्ष छात्रवृत्तिका लागि आवेदन दिएकामध्ये १९ जना छनोटमा परेका मेयर भरत बडायर जोशीले बताए।

चालु आर्थिक वर्षको स्वीकृत छोरी–बुहारी छात्रवृत्ती कार्यक्रम अन्तर्गत विनियोजन गरिएको चार लाख रकम उनीहरुको पढाईमा लगाइने मेयर जोशीले बताए।

यस वर्ष प्राविधिक विषय अध्ययनरत ३ जनाले ५० हजारका दरले छात्रवृत्ति पाएका छन्। बीएनएस नर्सिङ अध्ययनरत बसन्ती बोहरा, बीएससी सिएसआइटी अध्ययनरत लक्ष्मी कठायत र बीएससी नर्सिङ अध्ययनरत कल्पना कठायतले सो छात्रवृत्ति पाएका छन्।

यस्तै डिप्लोमा इन सिइ अन्धययनरत यशोदा भट्ट र फार्मेसी पढ्ने पार्वती साउदले २० हजारका दरले छात्रवृत्ति पाएका छन्।

सिर्जना दमाई, सुनीता थ्वाल, सिर्जना भण्डारी, सरस्वती सुनार, गीता भुल, धना कुमारी बोहरा, खगेश्वरी साउद, लक्ष्मी बोहरा, अन्जली सार्की र अमृता बिष्ट, ममता साउद, निशा बिष्ट, राधिका बोहरा र सिता जोशीले पनि १५ हजारका दरले छात्रवृत्ति पाएका छन्।

नगरपालिकाले बैक खतामार्फत सो रकम उपलब्ध गराउन सूचना समेत जारी गरेको छ।

‘यो छात्रवृत्ति कार्यक्रमले हाम्रो नगरका छोरी–बुहारीको व्यावसायिक तथा प्राविधिक शिक्षामा पहुँच पुग्ने अपेक्षा लिएका छौं, बिहेपछि पैसा नभएर पढाइ छोड्ने महिलाहरूका लागि पनि यसले पढाइलाई निरन्तरता दिने वातावरण सिर्जना गराउँछ, आवेदन अनुसार छनोट गरेर छात्रवृत्ति दिने काम सुरू हुन्छ अहिलेलाई कोटा केही तोकीएको छैन,’ जोशीले भने।

यस्तै नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीलाई शैक्षिक कर्जा दिने निर्णय अनुसार काम पनि अन्तिम चरणमा रहेको मेयर जोशीले बताए।

उनका अनुसार एसइई वा सोभन्दा माथिको शैक्षिक तह अध्ययन गर्न चाहनेलाई बिना ब्याज शैक्षिक प्रमाण्पत्रका आधारमा कर्जा दिने नगरपालिकाले यसअघि नै निर्णय गरेको थियो।

प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी बिना ब्याजमा ५ लाखसम्म कर्जा दिइने छ। कर्जा वितरणका लागि पनि आवश्यक प्रक्रिया पूरा गरेर वितरण गर्ने काम भइरहेको मेयर जोशीले बताए।

clock शुक्रबार १४, असार २०८१ ११:०१

प्रतिक्रिया