कैलालीमा चट्याङ लागेका २ जनाको मृत्यु, ५ जना घाइते

  बुधबार १२, असार २०८१ १३:४१

धनगढी । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको बताए ।

उनकाअनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका धनगढीका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एक/एक जना घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते भएकी घोडाघोडी–९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

टीकापुर र जानकीका घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १२, असार २०८१ १३:४१

प्रतिक्रिया