सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा, छानबिन समिति गठन गर्न कांग्रेसको माग

  बुधबार १२, असार २०८१ ०६:४३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ।

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो। सो बजेट कार्यक्रम पुस्तिका प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको हो। 

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा समेत माग गरेको छ। कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातोकिताब पाउनु गम्भीर विषय भएको बताए। 

त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा माग गरेका छन्। ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ। सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ।’

तर प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातोकिताब नराखेको जनाएको छ। सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आधिकारिक रूपमा रातोकिताब सार्वजनिक नगरिएको बताउँदै आएका छन्।

उनले अर्थ सचिव सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने दाबी समेत गरेका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो।

clock बुधबार १२, असार २०८१ ०६:४३

प्रतिक्रिया