मनसुन प्रणाली देशभर फैलियो, आज यी चार प्रदेशमा भारी वर्षा

  मङ्गलबार ११, असार २०८१ ०६:२३

धनगढी । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ। 

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो। नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो।

साथै असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो। यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले उल्लेख गरेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू९भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

clock मङ्गलबार ११, असार २०८१ ०६:२३

प्रतिक्रिया