एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः बर्ष खेलाडीको मनोनयन सार्वजनिक

  सोमबार १०, असार २०८१ २२:४१

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को बर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधामध्ये बर्ष खेलाडी पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।  सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को बर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्र सिंह ऐरी, भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी मनोनयनमा छन् । यस्तै बर्ष खेलाडी महिलाको मनोनयनमा कबड्डीकी जयन्ती बडु, क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी छिन् । 

क्रिकेटका दिपेन्द्रसिह ऐरीले गतबर्ष टी–२० क्रिकेटमा सबैभन्दा चाँडो ९ बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन् । उनले ६ बलमा ६ छक्का प्रहार गर्दै अर्को कीर्तिमान पनि राखेका छन् । ऐरीले नेपाललाई टी–२० विश्वकपमा पुगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भारात्तोलनका सागर भण्डारीले नयाँ राष्ट्रिय राख्न सफल भएका छन् । आईडब्लुएफ वल्र्ड कपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान उनले आफ्नो नाममा राखेका छन् ।  उज्वेकिस्तानको तास्केन्टमा भएको प्रतियोगिताको पुरुष १०९ केजीमाथि क्लिन एन्ड जर्कमा १७१ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । भलिबलका टेकराज अवस्थीले घरेलु भलिबलका प्रतियोगितामा सानदार प्रदर्शन गरेका थिए । पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका थिए । 

कबड्डीकी जयन्ती बडुले १९ औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउन सानदार प्रदर्शन गरेकी थिईन् । पहिलो सहभागितामै नेपालले पदक जितेर इतिहास रच्दा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीभित्र पर्छिन । भलिबलकी निरुता ठगुन्ना टाइगर कप भलिबलमा महिला तर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी थिईन् भने चौथो टाइगर कप एपीएफ क्लबलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । उनी केशवलाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेकी थिईन् । क्रिकेटकी कविता जोशीले ललितपुर मेयर कपमा सर्वाधिक रन बनाउनेमा दोस्रोमा रहदै सुदूरपश्चिम प्र्रदेशलाई फाइनलसम्म पुगाउन सानदार प्रदर्शन गर्ने खेलाडी हुन् ।

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको तर्फबाट सर्वाधिक रन बनाउने जोशीले एसियन क्रिकेट काउन्सिलको ओमेन्स प्रमियर लिगमा नेपाललाई सेमिफाईनलसम्म पुगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन् । अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन को अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका छन् । अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराई रहेका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 
 

clock सोमबार १०, असार २०८१ २२:४१

प्रतिक्रिया