कैलालीको लम्कीचुहामा ट्याक्टर नालामा खस्दा चालकको मृत्यु

  आइतबार ०९, असार २०८१ ०८:३६

धनगढी । कैलालीमा शनिबार मध्यरातमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको थियो ।

दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए । राति नै उनीहरुको उद्दार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्कीमा पुगाइएको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।

clock आइतबार ०९, असार २०८१ ०८:३६

प्रतिक्रिया