धनगढीको नीति तथा कार्यक्रम : एक वडा एक एम्बुलेन्स, रात्रिकालिन बजार चलाइने

  शनिबार ०८, असार २०८१ ०६:५९

धनगढी। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको ११ औँ नगरसभामा नगर प्रमुख गोपाल हमालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख हमालले एकीकृत, सन्तुलित, दिगो र योजनाबद्ध विकासका लागि हाम्रो धनगढी हमी बनाउँछौँ अभियानसँगै ‘हाम्रो धनगढी सफा धनगढी’ अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्ने बताए ।

उक्त अभियान अन्तरगत शहरी क्षेत्रमा भौतिक पूर्वाधार विकास, विद्युतीकरण, हरियाली र सौन्दर्यकरणका कार्य सञ्चालन तथा ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, आर्थिक बृद्धि गर्न मद्दत पुग्ने क्रियाकलाप अघि बढाइने नगर प्रमुख हमालले उल्लेख गरेका छन् ।

हाम्रो चाहाना नगरबासीको सुस्वास्थ्यको कामना भन्ने नारालाई अभियानका रुपमा सञ्चालन गरि स्वास्थ्य र शिक्षामा नगरबासीको पहुँच सुनिश्चित गर्ने नीति अवम्बन गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तरगत एक वडा एक नमूना विद्यालय विकास गरि शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने नीति लिइने हमालले बताए ।

नीति तथा कार्यक्रममा एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चालन, आफैले कमाइ, आफ्नै पढाइको स्थित सिर्जना गर्न सुदूरपश्चिम प्रदेश सरकारसँगको समन्वयमा अध्ययनरत युवाहरुलाई स्वरोजगारी प्रदान गर्न रात्रिकालिन बजार सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमलाई सञ्चालन गर्ने, विभिन्न दाताहरुको सहयोग र सहकार्यमा थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न ‘उपमहानगर शिक्षा विकास कोष’ मा थप रकम जुटाउन पहल गर्ने नीति लिइने समेत उनले बताए ।

यस्तै, हर घडी नगर प्रहरी भन्दै नगरवासीको सेवामा सधै नगर प्रहरीलाई सक्रिय गराउने, ‘सफा उपमहानगर स्वस्थ जनता, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मासाथ गर्दै आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने पूर्वाधार, औषधि, उपकरण लगायतका अन्य स्रोतसाधनमा अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाउने कुरालाई समेत प्राथमिकता दिइएको छ ।

‘एक वडा एक एम्बुलेन्स’ कार्यक्रम अन्तर्गत एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने, घरमै हुने सुत्केरीलाई शून्य झार्न आमा बचाउ अभियानलाई सशक्त बनाइने, एक घर पाँच योग र पाँच जडिबुटी कार्यक्रम सञ्चालन जस्ता कार्यक्रम पनि अघि सारिएको छ ।

स्वास्थ्य जीवनशैली, आहार(विहार भान्साघर पहिलो अस्पतालको अवधारणा लागु गर्न प्रत्येक विद्यालयमा आयुर्वेद तथा योग जीवन सहयोगी शिक्षा सञ्चालन गरिने घोषणा समेत नगर प्रमुख हमालले गरेका छन् ।

एक वडा एक मैदान निर्माण कार्यलाई निरन्तरता दिइएको छ भने नगर क्षेत्रका सार्वजनिक स्थानहरुमा क्याफेसहितको आधुनिक स्मार्ट शौचालय निर्माण गर्ने कुरालाई पनि प्राथमिकता दिइएको छ ।

हेर्नुहोस् धनगढी उपमहानगरको नीति तथा कार्यक्रमको पूर्ण पाठ: 

clock शनिबार ०८, असार २०८१ ०६:५९

प्रतिक्रिया