बैतडीमा मुहान सुकेपछि महाकालीबाट पानी

  शुक्रबार ०७, असार २०८१ १०:४८

बैतडी । सडक निर्माण गर्दा गाउँपालिकाभरिका पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले महाकालीको पानी तान्न ४४ करोड रुपियाँको गुरुयोजना तयार पारेको छ । गुरुयोजना अनुसार सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । विगतमा कलकल बग्ने यहाँको मटेला खोला गत वर्षदेखि सुक्खा बनेको छ । शिवनाथ गाउँपालिका–१, मिटभिटा दुवला मुहानबाट ३२ मिलिमिटर पाइपमा आउने पानीको मुहानमाथि सडक खन्दा मूल सुकेपछि पानीको हाहाकार मच्चिएको स्थानीय शिक्षक महासिंह साउदले बताए ।

सडक निर्माणले धेरै जसो पानीका स्रोत सुकेको जानकारी गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले दिए । उनले भने, “यहाँका सबै मूल सुकेपछि पानीको विकल्पविहीन भएका छौँ । अब महाकाली नदीबाट पानी तान्नेबाहेक अर्को उपाय छैन ।” त्यसैले गुरुयोजना तयार भएर बजेट पनि आइसकेकाले अब काम गर्नुपर्ने बेला आएको बताए ।

गुरुयोजना अनुसार शिवनाथ गाउँपालिका–२, महाकाली किनारको खैरेनीघाटबाट पानी लिफ्ट गरेर गाउँपालिकाका १, २ र ४ नम्बर वडाका बस्तीमा खानेपानी पु¥याउने लक्ष्य राखिएको छ । खानेपानी आयोजना पूरा भए यहाँको करिब अढाई हजार घरधुरीले पानी खान पाउने छन् । आयोजना स्थलसम्म बिजुलीबत्ती पु¥याउन सके एकरडेढ वर्षभित्र पानी आपूर्ति हुने बताइएको छ । पानी नहुँदा शिवनाथ गाउँपालिकाको सार्वजनिक शौचालय बन्द भएको छ । गाउँपालिका केन्द्रमा रहेको सुल्लेखान बजारका शौचालयमा ताला लगाइएको छ भने खानेपानीका धारा धुलो माटोले पुरिएका छन् ।

सडक निर्माण र लामो खडेरीका कारण शिवनाथमा पानीका मुहान सुक्दै गएपछि गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । ‘एक घर एक धारा’ निर्माण गर्न गाउँपालिकाले करोडौँ रुपियाँ खर्च गरे पनि धारामा पानी नआएको स्थानीय बासिन्दाले दुःखेसो पोखेका छन् । 

शिवनाथमा मात्रै नभई जिल्लाभरि पानीका मुहान सुक्ने क्रम बढेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताए । जिल्लाका १० वटा स्थानीय तह र ८४ वटा वडामा रहेका परम्परागत तरिकाले निर्माण गरिएका आठ हजार कुवा ९न्वालो० को स्थलगत निरीक्षण गर्दा आधाभन्दा बढी सुकिसकेको उनले जानकारी दिए ।

प्राकृतिक पानीका स्रोत सुक्दै गएपछि विकल्पमा अहिले खोलाबाट पानी तान्ने योजना निर्माण भइरहेका छन् । गत वर्ष जिल्लाभरि १७ वटा लिफ्ट खानेपानी योजना बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा पनि चार वटा लिफ्ट खानेपानी योजना निर्माण भइरहेको कार्यालय प्रमुख बताए ।

clock शुक्रबार ०७, असार २०८१ १०:४८

प्रतिक्रिया