दिल्ली विमानस्थलको विमानभित्र बम भएको सूचना आएपछि ....

  मङ्गलबार १५, जेठ २०८१ १४:३९

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित विमानस्थलमा मङ्गलबार आन्तरिक विमानभित्र बम भएको धम्कीपूर्ण सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो साबित भएको छ । 

अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो । 

एक सय ७० यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला परेन । 

‘अहिले विमान निरीक्षण भइरहेको छ । सबै सुरक्षा जाँच पूरा भएपछि, विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिनेछ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यो राजधानी नयाँ दिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीको श्रृङ्खलामध्ये पछिल्लो घटना हो ।
 

clock मङ्गलबार १५, जेठ २०८१ १४:३९

प्रतिक्रिया