एसीसी प्रीमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनौट
काठमाडौं । नेपालले एसीसी प्रीमियर कपमा ऐतिहासिक जीत हासिल गरेको छ । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै यूएईलाई ११७ रनमै रोकेपछि पाएको ११८ रनको लक्ष्यलाई नेपालले तीन विकेटको क्षतीमै भेट्टाएको हो ।
नेपालका गुल्सन झाले उत्कृष्ट ६७ तथा भिम सार्कीले ३६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको हो । यो जीतसंगै नेपाल एसिया कपमा सोझै छनोट भएको छ ।
गुल्सन झा र भीम सार्कीले चौथो विकेटका लागि गरेको साझेदारीका कारण नेपालले आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसियाकपमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स यूएईले दिएको ११८ को लक्ष्य पछयाएको नेपालले ३० ओभर ३ बलमा ३ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो ।
नेपालले ७ विकेटले जीत पार्दा गुल्सन झा र भीम सार्कीले जमेर प्रदर्शन गरे । नेपालका लागि मध्यम गतिका बलरको रुपमा चिनिएका अलराउण्डर झाले ८४ बलको सामना गर्दै ३ चौका र ६ छक्काको सहयोगमा ६७ रन बनाए ।
यस्तै भीम सार्कीले पनि ७२ बल खेलेर ४ चौकाको सहयोगमा ४६ रन बनाएर झासंग साझेदारीलाई खेलको अन्त्यसम्म जारी राखे ।
वर्षाका कारण हिजो रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलवार बिहान ९ बजेदेखि प्रारम्भ सुरु भएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाखामा खेल हेर्न हजारौं क्रिकेट प्रेमी भेला भएका थिए ।
प्रतिक्रिया