धनगढी उपमहानगरद्वारा शारदा माविलाई बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा

  शुक्रबार २८, बैशाख २०८१ २०:०४

धनगढी । धनगढी उपमहानगरपालिकाले बैशाख महिनाको उत्कृष्ठ सामुदायिक विद्यालय घोषणा गरेको छ । बैशाख २८ गते शुक्रबारका दिन उपमहानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक विद्यालयद्वारा सम्पादित शैक्षिक गतिविधिको प्रस्तुतीकरण एवम् उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा उमहानगरका कूल ६८ सामुदायिक विद्यालयमध्ये ३० वटा विद्यालय गरेको प्रस्तुतीरकणको मूल्याङ्कन गरिएको थियो । ती ३० वटा विद्यालयको प्रस्तुतीकरणका आधारमा वडा नं. २ स्थित शारदा माध्यमिक विद्यालय, बैयाबेहडीलाई उत्कृष्ठ विद्यालय घोषणा गरिएको हो । उक्त विद्यालयलाई नगर प्रमुख गोपाल हमालले नगद रु. पन्ध्र हजार र सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने उद्देश्यले २०८० चैत्र ८ गते सबै सामुदायिक विद्यालयहरुसंग कार्यसम्पादन सम्झौंता गरेको थियो । सोही सम्झौंता बमोजिम विभिन्न ७२ वटा सूचकहरुको कार्यान्वयनको सन्दर्भमा भए गरेका मासिक कार्यहरुको सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकद्वारा गरिएको प्रस्तुतीकरणका आधारमा उत्कृष्ठ विद्यालय घोषणा गरिएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै शारदा मावि, बैयाबेहडीका प्रधानाध्यापक तेज बहादुर सिंहले उत्कृष्ठ विद्यालय घोषणा कार्यक्रमले सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि सकारात्मक प्रतिस्पर्धा गर्न, विद्यालयका असल अभ्यासहरुबाट आदान प्रदान गर्न र विद्यालयलाई थप हौसला प्रदान गर्न मद्दत गर्ने बताउनु भयो ।

धनगढीले पछिल्लो समयमा शिक्षामा एक पछि अर्को उत्कृष्ठ कार्यहरु गर्दै आएको र ती कार्यहरुले आफूहरुलाई समेत अझ प्रेरित भएर लाग्न मद्दत पुगेको कुरा पञ्चोदय मावि, हसनपुरका प्रधानाध्यापक हरिशकुमार ओझाले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख गोपाल हमालले विद्यालयको शैक्षिक सुधार शिक्षकबाटै सम्भव भएको र त्यो धनगढीका शिक्षकले प्रमाणित समेत गर्नु भएको बताउनु भयो ।

clock शुक्रबार २८, बैशाख २०८१ २०:०४

प्रतिक्रिया