नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज

  बिहिबार २०, बैशाख २०८१ १६:५१

काठमाडौं । नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगावै गुमाएको छ। बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो ।


नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९(१९ रन बनाएका थिए । त्यस्तै अविनाश बोहोराले अविजित १७ र सोमपाल कामीले १० रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिज ए का बलर माथ्युज फोर्डले ३ विकेट लिए भने फाबियन एलेन, गुडाकेश मोती र हेडेन वाल्शले २/२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

यो जितसँगै वेस्ट इन्डिज ए ले ५ खेलको सिरिज एक खेल अघि नै ३-१ ले जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी शनिबार खेलिँदै छ ।

clock बिहिबार २०, बैशाख २०८१ १६:५१

प्रतिक्रिया