राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा नवोलाएपछि एमाले परित्याग गर्ने भीम रावलको संकेत

  बिहिबार १३, बैशाख २०८१ १६:१७

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’, रावलले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने ।

घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे ।
‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि  अर्को मोडमा लाग्न सक्छ’, उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’

आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरे । 

clock बिहिबार १३, बैशाख २०८१ १६:१७

प्रतिक्रिया