रेशम चौधरीले दायर गरेको रिटमा आज सुनुवाइ

  आइतबार ०९, बैशाख २०८१ १०:०५

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र अध्यक्ष रन्जिता श्रेष्ठलाई विपक्षी बनाएर दायर गरेको रिटमा आज पेशी तोकिएको छ ।

कैलाली जिल्ला अदालतमा दायर रिटमा तीन पटकसम्म पेशी चढेपनि एकपटक मात्रै बहस भएको थियो । यस्तै आज पनि सुनुवाइ हुनेमा निश्चित छैन । पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन ।

‘अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने’ आयोगले निर्णय गरेको थियो ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भनि रिट दायर गरेका थिए । नाउपा रेशम चौधरी पक्षले चैत २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेको थियो । तर, रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् ।

रेशम पक्षीय उक्त बैठकले ७ दिनभित्र १९५ जनाको नामावली बुझाउने र ३५ दिनभित्र १९५ जनाको नामावली निर्वाचन आयोगमा अद्यावधिक गर्न लगाउने निर्णय गरेको थियो ।

clock आइतबार ०९, बैशाख २०८१ १०:०५

प्रतिक्रिया