बैतडीमा तीन मुख्य राजनीतिक पार्टी कार्यालयको बत्तीको लाइन काटियो

  शुक्रबार ०७, बैशाख २०८१ ०९:२५

बैतडी । छ वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको जिल्ला कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटिएको हो । 

नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरेको पाइएको छ । बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्रका जिल्ला प्रमुख जनार्दन पौडेलले बताउनुभयो । 

वितरण केन्द्रको महसुल सूची अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार गरी एक लाख आठ हजार रुपियाँ विद्युत् महसुल तिर्नुपर्ने देखिन्छ । 

धारा पनि बन्द गरियो 

माओवादी केन्द्र पार्टी कार्यालयको खानेपानीको धारा पनि बन्द गरिएको छ । वर्षौंसम्म पानीको महसुल नतिरेपछि खानेपानीको धारा बन्द गरिएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भगवान चन्दले बताउनुभयो ।

उहाँका अनुसार माओवादी केन्द्रले करिब आठ हजार रुपियाँ खानेपानीको महसुल तिरेको छैन । महसुल बुझाउन बारम्बार ताकिता गर्दा पनि नतिरेपछि पार्टी कार्यालयको धारामा जाने पानीको लाइन बन्द गरिएको चन्दले बताउनुभयो । 

कांग्रेसले भने पानीको धारा जडान गरेको छैन । एमालेले पानीको महसुल नियमित बुझाउने गरेको छ । देशलाई पद्धतिमा लैजाने दल नै गैरजिम्मेवारी भएको आरोप स्थानीयवासीको छ । राजनीतिक दलले समयमै बिजुली र पानीको महसुल तिर्नुपर्ने माग सर्वसाधारणको छ ।  

सरकारी कार्यालय पनि सूचीमा 

विद्युत् वितरण केन्द्रले नियम पद्धति अनुसार विद्युत् महसुल नतिर्ने राजनीतिक दलसहित १२२ वटा सरकारी कार्यालयको लाइन काट्ने सूची तयार परेको छ । महसुल नतिर्ने ती सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपियाँ र अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपियाँ गरी एक करोड रुपियाँ महसुल उठाउन बाँकी छ । 

चालु आर्थिक वर्षमा विद्युत् महसुलबापतको बक्यौता रकम असुल गर्ने उद्देश्यसहित समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।

तीन महिनासम्म पनि विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने अभियान सुरु गरेर वितरण केन्द्रले साउनदेखि हालसम्म २७ लाख ४७ हजार ८२१  रुपियाँ बक्यौता रकम असुल गरेको छ । बैतडीमा २३ हजारभन्दा बढी विद्युत्का ग्राहक छन् ।   

clock शुक्रबार ०७, बैशाख २०८१ ०९:२५

प्रतिक्रिया