एमाले मौन बस्दा सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी प्रस्तुत भएन

  बुधबार ०५, बैशाख २०८१ १६:२४

धनगढी। सुदूरपश्चिम सङ्घीय समीकरणका दल मिलेर सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा (एमाले) ले कुनै निर्णय नगर्दा बुधबार साँझसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेको छैन् ।

प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गर्नु भएको थियो । सोही आह्वान अनुसार बुधबार बिहान ८ बजे नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्रको बैठक बसेर दिउँसो दावेदारी प्रस्तुत गर्ने बताइएको थियो । तर एमाले अनिर्णीत बन्दा दावेदारी प्रस्तुत हुन सकेन ।

एमालेको केन्द्रीय नेतृत्वले एकीकृत समाजवादीका दलका नेता दीर्घबहादुर सोडारीका पक्षमा सहमति दिनु भन्ने निर्देशन नदिएको कारण एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल अलमलिएको बताइन्छ । नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले बिहीबारसम्म मुख्यमन्त्रीको दावेदारीका विषयमा टुङ्गो लाग्ने बताउए ।

नेकपा (माओवादी केन्द्र) का उपनेता अक्कलबहादुर रावलले आफूहरू दिनभर पर्खेर बसे पनि एमालेका नेताहरू नआएपछि मुख्यमन्त्रीको दावेदारी हुन नसकेको बताउनुभयो ।

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभाको दलको बैठकले दलका नेता सोडारीलाई मङ्गलबार नै मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले पनि सोडारीलाई नै अघि सार्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्तिकै दुईवटा दावेदारीले मुख्यमन्त्री नियुक्तिमा निष्कर्षमा पुग्न नसकेको बताउँदै मङ्गलबार दोस्रो पटक मुख्यमन्त्रीको दावेदारीका लागि आह्वान गरेका छन् । 

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गर्नु भएको थियो । त्यसपछि चैत २३ गते प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न १० दिनको समयसीमा दिएका छन् । गोरखापत्रबाट

clock बुधबार ०५, बैशाख २०८१ १६:२४

प्रतिक्रिया