धनगढीमा नमुना विद्यालयका शिक्षकहरूको तालिम सुरू

  मङ्गलबार ०४, बैशाख २०८१ ०७:३१

धनगढी । धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयका शिक्षकहरूको तालिम सुरू भएको छ। सोमवारबाट शिक्षकहरूको पाँच दिने तालिम सुरू भएको हो।

काठमाडौं विश्वविद्यालयको ट्रेनिङ अफ स्कुलले धनगढीका ८७ जना शिक्षक/शिक्षिकाहरूलाई तालिम दिने छ। डाक्टर पार्वती ढुङ्गानाको संयोजकत्वमा आएको चार जनाको विज्ञ टोलीले शिक्षकहरूको पेशागत क्षमता बढाउन तालिम दिनेछन्।

पाँच दिनसम्म हुने तालिममा शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री निर्माण र अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी तालिम प्रदान गरिने नगर प्रमुखको सचिवालय प्रमुख कृपाराम उपाध्यायले बताए।

पाँच दिन चल्ने तालिममा पाँच वटा नमुना विद्यालयका शिक्षक/शिक्षिकाका अलावा अन्य विद्यालयका बालविकास सहजकर्ताहरूको पनि सहभागिता रहेको छ।

पाँच दिने तालिममा सहभागी शिक्षक/शिक्षिकाहरूलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिने काम भइरहेको सचिवालय प्रमुख उपाध्यायले बताए। बालविकासदेखि कक्षा ३ सम्मको एउटा समूह, कक्षा ४-७ सम्मा अर्को र कक्षा ८-१२ सम्मको तेस्रो समूह निर्माण गरेर प्रशिक्षण दिने काम भइरहेको उपाध्यायले बताए।

तालिम पश्चात् प्रभावकारी ढङ्गले शिक्षण सिकाइ क्रियाकलाप  सञ्चालन गर्न, स्थानीय स्रोत साधनवाट शैक्षिक सामग्री निर्माण गर्न र अङ्ग्रेजी विषय शिक्षण गर्न शिक्षकहरूलाई थप सीप र क्षमता हासिल हुने विश्वास गरिएको छ।

clock मङ्गलबार ०४, बैशाख २०८१ ०७:३१

प्रतिक्रिया