नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने कांग्रेस सुदूरपश्चिमको औपचारिक निर्णय

  सोमबार ०३, बैशाख २०८१ १४:३०

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार कांग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो ।

कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । आइतबार नै लक्ष्मणकिशोरलाई साथ दिइसकेको कांग्रेसले सोमबारमात्र उनलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले तत्काल कुनै निर्णय लिएका छैनन् । मियाँले यस विषयमा कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत गर्ने तयारी गरेका छन् ।

clock सोमबार ०३, बैशाख २०८१ १४:३०

प्रतिक्रिया