इजरायलमाथि इरानले गर्‍यो तीन सय बढी हवाई आक्रमण

  सोमबार ०३, बैशाख २०८१ ०६:३३

काठमाडौं । गत ७ अक्टोबरमा इजरायलमा भएको प्यालेस्टिनी लडाकु समूहपछि हमासलाई निमिट्यान्न पार्ने संकल्पका साथ शुरू भएको इजरायल–हमास युद्धमा आइतबारदेखि इरान पनि प्रत्यक्ष रूपमा देखापरेको छ।

वर्षाौंदेखि छद्म युद्ध गरिरहेका यी दुई प्रमुख विरोधी देश जारी इजरायल–हमास युद्धको ठीक छ महिना एक सातामा पहिलोपटक प्रत्यक्ष रूपमा युद्धको मैदानमा आमनेसामने भएका छन् । इरानको यो आक्रमणसँगै इजरायलको पक्षमा अमेरिका र बेलायतको बलियो समर्थन देखिएको छ।

शनिबार राति इरानले आफ्नो भूमिबाट तीन सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरू इजरायली भूमिमा प्रहार गरेको थियो । तीमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिएको इजरायलले दाबी गरेको छ। इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले त्यहाँको टेलिभिजनमार्फत् इजरायली जनतालाई सम्बोधन गर्दै रातभरमा इजरायलमा तीन सय १० वटा क्षेप्यास्त्र तथा डोन आक्रमण गरेको र तीमध्ये ९९ प्रतिशतलाई आकाशमै निस्तेज गरिएको बताउनुभयो ।

उहाँका अनुसार केही क्षेप्यास्त्र इजरायलको सैन्य इलाकामा पनि खसेको र त्यसबाट सामान्य क्षति पुगेको भए तापनि मानवीय क्षति भएको छैन । प्रवक्त हगारीका अनुसार इरानी आक्रमणमा १२ जना घाइते भएका छन्, तीमध्ये एक सात वर्षकी बालिका पनि छिन् । इरानी क्षेप्यास्त्र आकाशमा निस्तेज गर्ने क्रममा छर्रा लागेर ती बालिका घाइते भएकी हुन् । उहाँले केही आक्रमण यमन र सीरियाबाट पनि भएको जानकारी दिँदै इजरायल र इजरायली जनताको रक्षाका लागि आफ्नो सहयोगी र साझेदार राष्ट्रहरूसँग मिलेर पूरा ताकत लगाइरहेको बताउनुभयो ।

अमेरिकाको रक्षा मन्त्रालयका अनुसार अमेरिकी सेनाले इरान, इराक, सिरिया र यमनबाट प्रक्षेपण गरेको दर्जनौं क्षेप्यास्त्र र डोनलाई निस्तेज पारेको थियो। अमेरिकी राष्ट्रपति जो वाइडेनका अनुसार यो आक्रमणअघि नै अमेरिकाले आफ्नो एयरक्राफ्ट र युद्धपोट तयारी अवस्थामा राखेको थियो।

जोर्डनले पनि आफ्नो नागरिकको सुरक्षाका लागि आफ्नो वायुक्षेत्रमा घुसेका थुप्रै क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। बेलायती रोयल एयरफोर्ट टाइपफुन फाइटर जेटलाई तैनाथी अवस्थामा राखिएको र यो जेटले इराक र सिरियामाथि चक्कर लगाइरहेको बताइएको छ।

इरानको सेना इस्लामिक रेभोल्युनरी गार्ड कोर ९आईआरजीसी०ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। आईआरजीसीले झण्डै दुई साताअघि गत अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानको दूतावासमा भएको हवाई आक्रमणको प्रतिसोधस्वरूप यो आक्रमण गरेको बताएको छ।

इरानी आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति वाइडनसँग टेलिफोन वार्ता गर्नुभएको थियो। उहाँले बार क्याबिनेटको बैठक राखी हाललाई सेनाहरूको बिदा कटौती गरी देशको सुरक्षा प्रणालीलाई सक्रिय बनाउँदै इजरायल रक्षात्मक वा आक्रमक जुनसुकै परिस्थितिका लागि तयार रहेको बताउनुभएको छ।

इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नो सप्ताहन्तको बिदा छोट्याउँदै ह्वाइटहाउसमा आफ्ना राष्ट्रिय सल्लाहकार र मन्त्रीहरूसँग बैठक राख्नुभएको थियो। उहाँले इरान र उसका प्रोेक्सीहरूबाट हुने जोखिमको प्रतिकार गर्न इजरायलप्रति अमेरिकाको प्रतिबद्धता ‘फलामे कवच’ सरह हुने बताउनुभएको छ।

यसैबीच लेबनान र इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। इजरायलले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको भए तापनि पछि फेरि खोलेको छ । यद्यपि, इजरायलका रक्षामन्त्री याओव गैलांटले संघर्ष अहिले खतम नभएको बताएको छ ।

इरानले फ्रान्स, जर्मनी र बेलायतबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ । यी राष्ट्रहरूले इरान आक्रमणको भत्र्सना गरेका कारण इरानले त्यहाँ रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको हो। साथै, इरानले आवश्यक परे आफ्नो सुरक्षाका लागि कुनै पनि कडा कदम चाल्न नहिच्किचाउने चेतावनी पनि दिएको छ।

इरानी आक्रमणपछि सिरिया र इजिप्टले आफ्नो हवाई प्रतिरक्षा प्रणालीलाई उच्च सतर्कतामा राख्नुका साथै युद्धरत पक्षलाई अधिकतम रूपमा संयमित हुन आह्वान गरेको छ। राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय रूपमा युद्ध चर्कने आवस्थाको खतरालाई लिएर आफू गहिरो चिन्तामा परेको भन्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गर्नुभएको छ ।

को को उभिए इजरायलको पक्षमा ?

अमेरिकी राष्टपति जो वाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक तथा फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको यो कदम अस्थिरताको नयाँ बिन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ।

क्यानडाले पनि इरानी आक्रमणको विरोध गरेको छ। चीनले भने आफ्ना नागरिकहरूलाई नजिकबाट अवस्थाको निरीक्षण गर्न आग्रह गर्दै सुरक्षित रहन आग्रह गरेको छ।

clock सोमबार ०३, बैशाख २०८१ ०६:३३

प्रतिक्रिया