सुदूरपश्चिममा आज सरकारको दाबी गर्ने अन्तिम दिन, कसको बन्दै छ सरकार ?

  आइतबार ०२, बैशाख २०८१ ०९:०१

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणको दाबी पेश गर्ने आज अन्तिम दिन अहिलेसम्म पनि दलहरूबीच ठोस सहमति हुन सकेको छैन ।

प्रदेश प्रमुख नजिर मियाँले २३ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढि दलहरू मिलेर सरकार निर्माणको लागि दाबी पेस गर्न आज साँझ ५ बजे सम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समय आज सकिँदै गर्दा पनि दलहरू बीचको विवाद र अडानका कारण ठोस सहमति जुट्न नसकेको हो ।

एमाले माओवादीसहितको सत्ता गठबन्धनमा अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको बताइएको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएपछि मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरूले दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पुर्‍याउन २७ सांसद चाहिन्छ ।

नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र सांसद डा।तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ । यसरी बहुमत पुग्छ तर, नाउपाको विवाद अझै सुल्झिएको छैन ।

नाउपाकै विवादका कारण

सरकारमा दाबी पेश गर्न ढिलाइ भइरहेको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले जानकारी दिए ।

‘अहिले सम्म पनि नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद सकिएको छैन, त्यही कारण ढिलाइ भइरहेको हो उनले भने ‘छलफल भइरहेका छन् , आज चाडै सबै कुरा टुङ्गो लाग्छ।‘

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री पाउँदा कसलाई बनाउने भन्ने विषयमा पनि विवाद देखिएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने गरि अघि सारेकी छन् भने चार सांसदले लक्ष्मण किशोर चौधरीको नाममा सहमति गरेका छन् ।

यता नेकपा एकीकृत समाजवादीले पनि नाउपा भित्र विवाद रहेको र सात प्रदेश मध्ये एक प्रदेशमा आफ्नो मुख्यमन्त्री हुनुपर्ने जबरजस्त अडान राखेको छ ।

एमाले र माओवादी भने सुदूरपश्चिम प्रदेशमा नेतृत्व गर्ने भन्ने विषयमा लागेका छैनन् । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो बिसु पर्व मनाउँदै गर्दा भनेका थिए , ‘हामी मुख्यमन्त्री बन्ने भन्ने रेसा छैनौँ हामीलाई विकास गर्नु छ । समृद्धि ल्याउनु छ ।’

प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज सकिनै लाग्दा पनि अझै सम्म मुख्यमन्त्री कुन दलले पाउने भन्ने ठोस सहमति नहुँदा गठबन्धन भित्रै पनि छलफल र बहस हुन सकेको छैन । अहिले ८ बजे बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरू बसेर यस विषयमा टुङ्गो लगाउने नेताहरूले दाबी गरेका छन् ।

‘अहिले ८ बजे बालुवाटारमा छलफल हुँदै छ त्यही छलफलले सुदूरपश्चिम सरकार गठनको विषय टुङ्गो लाग्छ ’ गठबन्धनका एक शीर्ष नेताले भने, ‘मन्त्रालय सम्मको भागबन्डा त्यहि छलफलबाट हुन सक्छ ।’

clock आइतबार ०२, बैशाख २०८१ ०९:०१

प्रतिक्रिया