पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ : एमाले सचिव भट्ट

  शनिबार ०१, बैशाख २०८१ २१:१८

धनगढी । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले बिसु पर्वले पार्टीलाई बलियो र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । आज आफ्नो निवासमा विसु पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उनले पार्टी भित्रको तिक्तता मेटाउँदै पर्वले बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले नेता कार्यकर्ताहरूलाई राजनैतिक गतिशीलता र क्रियाशीलता हुन पनि निर्देशन दिएका थिए ।

‘जनतासँग सुमधुर सम्बन्ध बनाउनुहोस्’, उनले भने, ‘पार्टी नीति र विधि अनुसार अगाडि बढ्छ तपाइहरू पनि त्यहि अनुसार क्रियाशील भएर पार्टी बलियो र एकताबद्ध बनाउन लाग्नुहोस् ।’

सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ । आज सोही अवसरमा भट्ट निवास गेटामा कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पार्टी भित्रको तिक्तता मेटाएर सबै एक हुनुपर्ने बताएका थिए । उनले सुदूरपश्चिम प्रदेशको मौलिक पर्वहरूको संरक्षणको पनि आवश्यकता रहेको बताए ।

त्यस्तै पोलिट ब्युरो सदस्य नारदमुनि रानाले विसु पर्वको शुभकामना दिँदै मिसन ०८४ मा एमालेले एकल बहुतको सरकार निर्माण गर्ने गरि पार्टी निर्माणका जुट्न समेत नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरूलाई सिस्नो हानेर शुभकामना दिइएको थियो ।

clock शनिबार ०१, बैशाख २०८१ २१:१८

प्रतिक्रिया