बझाङको छविसपाथिभेरामा कक्षा ८ को परीक्षामा पालिकाभर ३२४ मा  २३ जना उत्तीर्ण

  सोमबार २६, चैत २०८० २१:२१

बझाङ । बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा जम्मा २३ जना विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाले लिएको आधारभूत तहका सम्मिलित भएका विद्यार्थी संख्या ३२४ रहेकोमा परीक्षामा पास भने २३ जना मात्रै भएको शिक्षा अधिकृत हरिचन्द्र कडायतले बताए।

यो वर्षको वार्षिक परीक्षामा पालिकामा रहेका १६ विद्यालय सम्मिलित भएकामा ७ वटा विद्यालयको नतिजा शून्य आएको शिक्षा अधिकृत कडायतले बताएका छन्। शून्य नतिजा ल्याउने विद्यालयमा वडा नम्बर ३ को बान्नीचौर माध्यमिक विद्यालय र सन्तोषी आधारभूत विद्यालय, वडा नम्बर १ को कालिका र जयपृथ्वी आधाभूत विद्यालय, वडा नम्बर २ को शिशु आधाभूत विद्यालय, वडा नम्बर ७ को सुर्योदय र सुर्मा आधारभूत विद्यालय रहेका छन्।

यो वर्षदेखि आधारभूत तहको परीक्षा मार्यादित तरिकाले लिएकाले असफल हुने विद्यार्थीको संख्या निकै बढी देखिएको शिक्षा अधिकृत कडायतले बताए।

"यो वर्ष मार्यादित तरिकाले परीक्षा लिने, उत्तरपुस्तिका जाँच गर्ने र परीक्षाफल निकामल्ने काम भएकाले सफल विद्यार्थीको संख्या थोरै भएको हो," उनले भने, "परीक्षाफलले पढाइको वास्तविक अवस्था देखाएकाले सुधारको पक्ष समेत उजागर गरेको छ। अर्को वर्षदेखि कक्षा ५ को परीक्षा समेत व्यवस्थित र मार्यादित किसिमले चलाउने छौँ। परीक्षामा भएको कडाइले शिक्षक, विद्यार्थी र पालिकाले थप मेहनत गर्नुपर्ने देखाएको छ।"
 

clock सोमबार २६, चैत २०८० २१:२१

प्रतिक्रिया