सुदूरपश्चिम सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक

  सोमबार २६, चैत २०८० ११:०३

धनगढी । सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो ।

नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो । 

मुख्यमन्त्री शाहले राजीनामा दिएपछि संविधानमा भएको व्यवस्थाबमोजिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको छ ।

संविधानको धारा १६२ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबीको आह्वान गर्नुभएको छ ।  

प्रदेश प्रमुखले आह्वान गरे अनुसार मुख्यमन्त्री नियुक्तिको समयसीमा आउँदो वैशाख २ सम्म तोकिएको छ । नयाँ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) मिले पनि सरकार गठनमा बहुमत पुग्दैन ।

बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धनसँग माओवादीका १०, एमालेका १० र समाजवादीका चार गरी २४ जना प्रदेश सदस्य रहेका छन् ।  

नयाँ गठबन्धनलाई सरकार गठन गर्न राप्रपाका एक र स्वतन्त्र एक सदस्यले समर्थन गर्दा पनि बहुमत पुग्दैन । बहुमत पु¥याउन नागरिक उन्मुक्ति पार्टी नै निर्णायक देखिएको छ । 

सरकार गठनका लागि उन्मुक्ति पार्टी निर्णायक रहेकाले सो पार्टीलाई मनाउने प्रयास जारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले बताउनुभयो ।  

“नागरिक उन्मुक्तिलाई गठबन्धनमा ल्याउने प्रयास जारी छ,” उहाँले भन्नुभयो, “सो पार्टीका प्रदेश सभा सदस्यहरू काठमाडौँमा रहेकाले तत्काल बसेर छलफल गर्न नसकिरहेको अवस्था छ ।” यसअघिको सरकारमा उन्मुक्ति पार्टीले थप मन्त्री पठाएपछि सो पार्टीभित्र आन्तरिक विवाद चुलिएको थियो । 

clock सोमबार २६, चैत २०८० ११:०३

प्रतिक्रिया