रेशम चौधरी पक्षको बैठक, नागरिकता हेरेर मात्र इन्ट्री

  शुक्रबार २३, चैत २०८० २१:१३

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष) केन्द्रीय समितिको बैठक सुरु भएको छ । शुक्रबार अनामनगरस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले महाधिवेशनले चयन गरेको केन्द्रीय समितिको बैठक सुरु भएको दाबी गरेका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक नभएको बताएकी छन्। अध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गरी पार्टीले कुनै बैठक नबोलाएको बताएकी हुन् । निर्वाचन आयोगले महाधिवेशनलाई मान्यता नदिएका कारण संस्थापक केन्द्रीय सदस्यसहितको केन्द्रीय समिति नै क्रियाशील रहेको र सो समितिको बैठक नभएको उनले प्रस्ट पारेकी छन् ।

यसअघि श्रेष्ठले बोलाएको केन्द्रीय समिति बैठकमा झडप हुँदा बैठक स्थगित भएको थियो । रेशम चौधरी पक्षका नेताहरुले आफ्ना पक्षका नेताहरुलाई कुटपिट गरेको आरोप श्रेष्ठले लगाएकी छन् । झडप भएकै दिन रेशम चौधरीले आजका लागि बैठकको आह्वान गरेका थिए ।

चौधरीले केन्द्रीय सदस्यको नागरिकता हेरेर मात्र बैठकमा सहभागी हुन दिएका छन् । उनले बैठक कक्षको ढोका थुनेका छन् भने पत्रकारलाई फोटो समेत खिच्न दिएका छैनन् । उनले बैठकबारे कुनै प्रतिकृया दिन मानेन् ।

clock शुक्रबार २३, चैत २०८० २१:१३

प्रतिक्रिया