सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठनका लागि आह्वान गर्ने

  शुक्रबार २३, चैत २०८० ०९:२७

धनगढी । सुदूरपश्चिममा कानुनी परामर्शपछि सरकार गठन गरिने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन्।

विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री शाहले बिहीवार साँझ प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए। मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा जुटेका छन्।

शाह संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए। अब नयाँ सरकार गठनका लागि उपधारा (५) अनुसार आह्वान गर्ने कि उपधारा (२) मा फर्किने भन्ने विषयमा प्रदेश प्रमुख कानुनी परामर्श गर्ने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयका सचिव शैलेश ढुंगानाले प्रदेश प्रमुख कानुनी परामर्शपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताए।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार गठनका आह्वान गरेमा अहिलेकै अवस्था रहे प्रदेश सभा विघटनको जोखिम हुने भएकाले उपधारा (२) अनुसार जादा एउटा विकल्प बाँकी रहने कतिपयको तर्क छ तर उपधारा (३) अनुसार नियुक्त सरकार ढलेका कारण उपधारा९५० मै जान उपयुक्त हुने सुझाव समेत दिइएको छ।

clock शुक्रबार २३, चैत २०८० ०९:२७

प्रतिक्रिया