विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न केएमसीलाई स्ववियुको अनुरोध

  बुधबार २१, चैत २०८० ०९:३९

धनगढी । स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको टिमले सुदूरपश्चिम विश्वविद्यालयका भिसी लगायतका पदाधिकारीहरुलाई ज्ञापन पत्र बुझाएको छ। विश्वविद्यालयले विद्यार्थीको  भविष्य माथि खेलबाड गर्ने गरी गरिएका लापरबाही विरुद्ध विभिन्न मागहरू राखेर ज्ञापन पत्र बुझाइएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियनले राखेका मागहरू निम्न अनुसारका छन्। 

१– स्नातक तह र स्नातकोत्तर तहको यस वर्षको विद्यार्थीको नतिजा प्रकाशन गर्दा पहिलो चरणमा फेल गरिएका तर पुनः जाँच को लागि निवेदन दिँदा स्नातकोत्तर तहमा ७ जना र स्नातक तहमा ४ जना पास भएको नतिजा प्रकाशित भयो। यस्तो गैर जिम्मेवार र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकमाथि तत्काल कारबाहीको माग गर्दछौ।

२– कक्षामा पढाउने शिक्षकहरू यसै विश्वविद्यालयका सरहरु,परीक्षाको पेपर निर्माण विश्वविद्यालय भित्रै गर्ने, विद्यार्थीले परीक्षा विश्वविद्यालय भित्रै दिने, पेपर चेक पनि विश्वविद्यालयकै सरहरूले गर्ने तर नतिजा शून्य आउने कारण के हो पत्ता लगाउनु पर्ने र परीक्षा दिएको बढीमा १ महिना भित्र परीक्षाफल प्रकाशित गर्ने ग्यारेन्टी दिनुपर्ने ।

३– विश्वविद्यालय भित्रै कोर्स निर्माण गर्ने तर कक्षा सुरु भएको महिनौँ सम्म कोर्स निर्माण गर्न नसक्नुको कारण के हो रु यसको छानबिन गरी यो समस्याको अन्त्य गर्नुपर्ने । कोर्स निर्माण गरिसकेपछि सम्बन्धित विषयका प्राध्यापकहरुलाई पाठ्यपुस्तक निर्माणका निम्ति अग्रसरता गराउन किन सकिएन रु प्राध्यापकहरूले पाठ्यपुस्तक निर्माणको वातावरण निर्माण गर्नुपर्ने । 

४– विश्वविद्यालय स्थापनाको लामो समय हुँदासमेत सेमेस्टर प्रणालीको महत्त्व अझै पढाउने सरहरूले समेत बुझ्न नसकेकाले सरहरुलालाई पनि शिक्षण तालिम प्रदान गर्नुपर्ने ।

५– प्रश्न पत्रकै कारण धेरै विद्यार्थी फेल हुने जटिल समस्या देखिएकाले त्रिभुवन विश्वविद्यालयले समेत सुरु गरिसकेको अभ्यास प्रश्न पत्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा निर्माण गर्नुपर्ने ।

६– विश्वविद्यालयमा कुनै पनि पदपूर्ति गर्दा दलीय भागबन्डा गर्ने चरम लापरबाही देखिएकाले यो असाध्यै लाजमर्दो प्रवृत्तिको अन्त्य गरी खुला प्रतिस्पर्धा बाट पदपूर्ति गरिनुपर्ने।  

७–   सिनेट बैठकमा विद्यार्थीको प्रतिनिधित्व सम्बन्धमा विश्वविद्यालय ऐनमा उल्लेख गरिए अनुसार विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने । । स्वतन्त्र विद्यार्थी युनियनलाई प्रशासनिक समितिका हरेक गतिविधिमा सहभागी गराउनका लागि सबै क्याम्पसलाई तत्कालपरिपत्र गर्नुपर्ने र नियमावलीमा उल्लेख गर्नुपर्ने।  

८– विद्यार्थीहरूले आफ्नो शुल्क तिर्दा, परीक्षा फारम बुझाउँदा र क्याम्पसमा अन्य प्रशासनिक कार्यहरू गर्दा अनलाइन माध्यम बाट पनि गर्न मिल्ने गरी व्यवस्था मिलाउनु पर्ने।

पुनश्च स् हामी हाम्रा मागहरू पुरा भएन भने आन्दोलन गर्छौ ताला लगाउँछौ भनेर भन्दैनौ तर तपाईँहरू अझै गम्भीर हुनुभएन विद्यार्थीलाई हाम्रो विश्वविद्यालयप्रतिको भरोसा दिलाउन सक्नुभएन भने निकट भविष्यमा विश्वविद्यालयका खाली कोठा देखेर लाजले मुख छोप्दै जागिर छोडेर घरतिर लाग्नुपर्नेछ भन्ने कुरा स्मरण गराउन चाहन्छौ ।

clock बुधबार २१, चैत २०८० ०९:३९

प्रतिक्रिया