नाउपाको रन्जिता नभएर आफु रहेको रेशम चौधरीको दाबी

  मङ्गलबार २०, चैत २०८० १६:३९

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफू रहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै संरक्षक चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गर्दै रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्षमात्र रहेको बताए ।

लाखौँ जनताबाट चुनिएर आएको अध्यक्ष आफू रहेको रेशमको भनाइ थियो । निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने टिप्पणीसमेत गरे ।

निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि स्वीकार गरेको थिएन तर उनीहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसकेको भन्दै रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे ।

उनले आफ्नो तर्फबाट रञ्जिता श्रेष्ठ पक्षका कुनै पनि नेतामाथि हातपात नभएको दाबीसमेत गरे । बरु उनीहरूबाटै सुटर ल्याएर पार्टी कार्यालय घेर्ने चेतावनी दिइएको रेशमको भनाइ छ ।

उनले भने, ‘मैले आज प्रधानमन्त्री प्रचण्डसँग भेटमा पनि भनेँ– तपाईले कस्तो तागत दिनुभएको छ कि उनीहरू (रञ्जिता) ले सुटर ल्याउने भइसके ।’

प्रधानमन्त्री प्रचण्डले फोन गरेर बोलाएपछि आफू भेट्न गएको रेशमको भनाइ छ । ‘तपाईंहरूको पार्टीमा खासै विवाद छैन, किन बाहिर छताछुल्ल भएको रु त्यसलाई कसरी हुन्छ मिलाउनुस् भनेर प्रधानमन्त्री प्रचण्डले सुझाव दिनुभयो,’ उनले भने ।

रेशमले बाहिर आएको हल्लाजस्तो पार्टीमा विवाद नरहेको पनि बताए । चैत २३ गते बस्ने बैठकले सबै विवाद समाधान हुने उनको दाबी छ ।

clock मङ्गलबार २०, चैत २०८० १६:३९

प्रतिक्रिया