बिश्वासको मतका लागी रेशमको निर्णयको पर्खाइमा मुख्यमन्त्री शाह

  आइतबार १८, चैत २०८० १४:३९

धनगढी। केन्द्र सरकारमा नयाँ समीकरण बनेपछि सुदूरपश्चिममा अल्पमतमा परेको मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार जोगाउन सकस परेको छ । केन्द्रमा एमाले र माओवादी सहितका दल मिलेर नयाँ समीकरण बनाएपछि सुदूरपश्चिममा पनी साविकका सत्ता साझेदार दलले मुख्यमन्त्री शाहको साथ छाडेपछि सरकार टिकाउन सकस परेको छ। 

प्रदेशमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारलाई जोगाउन मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टिबाट ५ जनालाई मन्त्रीमा नियुक्त गरायो। संरक्षकको भूमिकामा रहेका रेशम चौधरी मुख्यमन्त्री शाहका पक्षमा उभिए। उनकै जोडबलमा मन्त्री हेरफेर भएको थियो। तर अध्यक्ष रञ्जिता चौधरीले सल्लाह नगरी सरकारमा गएको भन्दै फिर्ता हुन निर्देशन दिएपछि मुख्यमन्त्री शाह समेत अठ्यारोमा परेका छन्। 

मुख्यमन्त्री शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएको सचिवालयले जनाएकोमा अहिलेसम्म बिश्वास मत पाउने आधार बनिसकेको छैन् । मन्त्री हेरफेरसँगै नाउपामा झन्झ(न् विवाद उत्कर्षमा पुगेको छ। नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक किचलो छ। 

मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन नजिकिँदै गर्दा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको बाटो कुरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी शाह नेतृत्वको सरकारमै छ। यही चैत २२ गतेभित्र मुख्यमन्त्री शाहले विश्वासको मत लिइसक्नु पर्ने समयसीमा छ। संस्थापक संरक्षक रेशम चौधरी र उक्त पार्टीको संसदीय दल हालसम्म कांग्रेस नेतृत्वमा रहेको शाहकै सरकारलाई समर्थनको पक्षमा छ ।

तर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने आफ्नो पार्टीका सांसदहरुले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएर केन्द्रमा नवगठित समीकरण अनुसार नयाँ सरकार गठन हुनुपर्ने अडानमा रहेकी छिन् ।वर्तमान सरकारलाई नै समर्थन गरेर अघि बढ्ने या फिर्ता हुनेमा पार्टी अध्यक्ष र संसदीय दलबीच मतभिन्नताको टकराव बढेपछि अन्योलता छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय नै गराएर समर्थन फिर्ता लिन संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन नै दिएकी छिन् ।तर संसदीय दलले अध्यक्ष श्रेष्ठको निर्देशन अवज्ञा गरेको छ । कुल सात जना सांसदमध्ये संसदीय दलका नेता घनश्याम चौधरीसहित पाँच जना वर्तमान सरकारलाई नै समर्थनको पक्षमा छन् । उनीहरुका पछाडी रेशम चौधरीको आड छ । 

सुदूरपश्चिममा जुनसूकै समीकरणको सरकार गठनका लागि पनि नागरिक उन्मुक्ति निर्णायक रहेको छ । यही परिस्थितिकाबीच जापानमा रहेका रेशम चौधरी स्वदेश फर्किएका छन् । उनको पहलकदमीमा नागरिक उन्मुक्तिका सबै सांसदहरुले आफ्नै सरकारलाई समर्थन गर्ने विश्वासमा मुख्यमन्त्री शाह छन् । मुख्यमन्त्री शाहले अहिले किचलो देखिएको भएपनि अन्ततः नागरिक उन्मुक्तिको सर्वेसर्वा भनेकै रेशम नै भएकाले उनले मेरै सरकारलाई सहयोग गर्ने रहेको बताए ।

 मुख्यमन्त्री शाह कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपा एक र एक जना स्वतन्त्र सांसदको साथ पाउने विश्वासमा छन् । शाहले उनीहरुको साथ पाए बहुत आवश्यक संख्या २७ जना पुग्छ । तर नागरिक उन्मुक्ति भित्रकैको बिवाद समाधान नभएमा वा एक जना मात्रै सांसदले पनि समर्थन नगरे मुख्यमन्त्री शाहको सरकार ढल्ने अवस्था आउन सक्नेछ ।

clock आइतबार १८, चैत २०८० १४:३९

प्रतिक्रिया