सुदूरपश्चिममा नयाँ सत्ता गठबन्धनको सरकार बनाउन माओवादीले पहल गर्ने निर्णय

  आइतबार १८, चैत २०८० १४:३५

धनगढी । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा निर्णय गरेको छ। आज संसदीय दलको कार्यालयमा बसेको बैठकमा केन्द्रमा तयार भएको एमाले माओवादीसहितको गठबन्धनको सरकार सुदूरपश्चिममा पनि बनाउने गरि पहल गर्ने निर्णय गरेको हो ।

माओवादी उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरी उत्सव सहितका माओवादी संसदीय दलको बैठकले नयाँ सत्ता गठबन्धनको सरकार बनाउने निर्णय गरेको हो ।

खगराज भट्ट बाहेकका सुदूरपश्चिम प्रदेशका सबै प्रदेश सभा सदस्यहरू आजको बैठकका उपस्थित थिए। माओवादी नयाँ सत्ता गठबन्धनको पहिलो ठूलो दल हो । यहाँ माओवादीका ११ सांसद छन् । बैठकमा सहभागी एक सांसदले भने ‘हामी गठबन्धनको सबै भन्दा ठूलो दल हौँ हामीले मुख्यमन्त्री नलिएर भएपनि सरकार बनाउने विषयमा निर्णय गरेका छौँ’ उनले भने, ‘केही बेरमा विज्ञप्ति जारी गरेर नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा आह्वान गर्छौ । ’

माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अहिले कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । २२ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । यहाँ कांग्रेसका १८ र नाउपाका ७ सांसदका छन्। शाहको पक्षमा २५ जना छन्। 

राप्रपाकि खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुगाउने पक्षमा छन्। तर, नाउपा भित्रै विवाद हुँदा मुख्यमन्त्री शाह ढुक्क देखिन्नन् । यस्तो अवस्थामा माओवादीसहितका दलहरुले भने अर्को सरकार गठन गर्ने तयारीमा लागेका हुन्।

clock आइतबार १८, चैत २०८० १४:३५

प्रतिक्रिया