कैलाली प्रिमियर लिगको उपाधि आलिताललाई

  आइतबार १८, चैत २०८० ०६:५४

धनगढी । धनगढीमा सम्पन्न  दोस्रो संस्करणको कैलाली प्रिमियर लिग  अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ। शनिबार सम्पन्न फाइनल भिडन्तमा  डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि रक्षा गर्‍यो । 

उपाधिसंगै आलितालले  २ लाख पुरूस्कार पायो भने परशुरामले  १ लाखमा चित्त बुझायो।

जितका लागि पाएको १११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रनको योगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए। 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटियो। उसका यश कठायतले ३२ र मान साउले २१ रन जोडे। आलितालका हिक्मत महरा र निरज ऐरले ३/३ विकेट झारे। हिक्मत म्यान अफ द फाइनल चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिए ।

आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयीमान खेलाडी भए। 

 विजेता,उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,परशुराम नगरपालिकाका मेयर भरत जोशी,आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद र  विरेन्द्र चन्दलगायतले पुरूस्कार वितरण गरे । 

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको थियोे । प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने  कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताए ।

clock आइतबार १८, चैत २०८० ०६:५४

प्रतिक्रिया