शुक्लाफाँटामा पाटेबाघको संख्या बढ्दै

  बिहिबार ०२, चैत २०७९ १६:३५     विश्वास खबर

कञ्चनपुर, २ चैत्र । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। शुक्लाफाँटामा पाटेबाघको बासस्थानका लगि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन्। 

विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय वासस्थानले गर्दा बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए। ‘शुक्लाफाँटा बाघको राम्रो वासस्थान बनेको छ’, उनले भने, ‘यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको सङ्ख्या बढेको हो।’

उनले शुक्लाफाँटाभित्र रहेको ठुला घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहाराका प्रजाति रहेको बताए। शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन्। ‘निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठुला नदी छन्’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘यो बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम ताल पनि बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ।’

निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन्। चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो।

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा सङ्ख्या ३६ पुगेको हो। निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ।–रासस

clock बिहिबार ०२, चैत २०७९ १६:३५     विश्वास खबर

प्रतिक्रिया