एमाले कञ्चनपुर अधिवेशनमा विवाद, निर्वाचन कार्यालयमा तालाबन्दी

  सोमबार ०५, चैत २०८० १०:०३

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद सृजना भएको छ । नवौं जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी भएपछि विवाद सृजना भएको छ ।

अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालय कार्यालय तालाबन्दी गरेको बताए ।

‘२४जना बसेर प्रतिनिधिको भावनाविपरीत पदाधिकारी घोषणा मान्य हुँदैन’, तालाबन्दीपछि चन्दले भने, ‘कि सबैको भावना समेटिनु पर्छ नत्र निर्वाचन हुनुपर्छ ।’

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् । चन्दले ती प्रतिनिधीहरुबाट नेतृत्व चयनको अधिकार नखोस्न आग्रह गरे ।

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सम्भव हुँदासम्म सर्वसम्मत नभए स्वच्छ निर्वाचन मार्फत नेतृत्व चयन गर्न नेता कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए ।

कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गरेको चौथो दिन डडेल्धुरा जिल्ला अधिवेशनको उद्घाटन गर्न ओली कैलाली पुग्दा सम्म पनि नेतृत्व चयन भएको छैन ।

clock सोमबार ०५, चैत २०८० १०:०३

प्रतिक्रिया