इजरायल र हमासबीच आजदेखि पुनः वार्ता हुँदै

  आइतबार ०४, चैत २०८० ०७:०५

काठमाण्डौ । इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुँदैछ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता आजदेखि पुनः शुरु हुन लागेको एएफपीले जनाएको छ ।

मुसलमानहरूको पवित्र महिना रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् । रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन ।

तर मध्यस्तकर्ताहरुले दुबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेर पहिलो चरणमा छ हप्ताको युद्धविराम हुने र त्यो अबधिमा इजरायलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका ३५ जनाको रिहाइ समावेश हुने गरी सहमति जुटाएको इजिप्टका अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यस्तै इजरायली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ । खाद्यान्नको चरम अभाव भएको उत्तरी क्षेत्रमा सहायत सामाग्री सहज रुपमा पुर्‍याउन सहजिकरण गर्ने पनि आजको वार्ताले सहमति गर्न सक्ने एएफपीले जनाएको छ ।

clock आइतबार ०४, चैत २०८० ०७:०५

प्रतिक्रिया