गौरीगंगा गोल्डकपः फारवेष्ट पशुपति फाईनलमा

  मङ्गलबार २९, फागुन २०८० १९:१८

धनगढी । कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप२०८० मा फारवेष्ट पशुपति युवा क्लब फाईनलमा पुगेको छ । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो सेमिफाईनल खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लबफाईनलमा पुगेको हो । 

लिक्मा खेल मैदानमा भएको दोस्रो सेमिफाईनलमा खेलमा आयोजक गौरीगंंगा ११ स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फाईनल पुगेको हो । निर्धारित समय दुबै टोलीले गोल रहित बराबरी खेलेपछि टाईब्रेकरमा फारवेष्ट पशुपतिले बाजी मारेको हो ।

फारवेष्ट पशुपतिका लागि विवेक शाही, पवन थापा र दिपेश ओलीले पेनाल्टीलाई गोलमा परिणत गर्दा शिशिर केसीको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो भने रोहित बोहोराको प्रहार गोलपोष्टमा लागेर फर्कियो । गौरीगंंगा ११ स्पोर्टस क्लबका लागि सुरज थापाले मात्रै गोल गर्न सके । निर्मल बलको प्रहार फारवेष्टका गोलरक्षक अमानत सेखले बचाए ।

हरिश भट्टको प्रहार गोलपोष्टमा लागेर फर्किदा टोप बिष्टको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका फारवेष्ट पशुपतिका गोलरक्षक अमानत सेख म्याच अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए । 
प्रतियोगिताको फाईनल खेल बिहीबार हुनेछ ।

फाईनलमा स्टार सिटी युवासँग फारवेष्ट पशुपतिले खेल्नेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ । 
 

clock मङ्गलबार २९, फागुन २०८० १९:१८

प्रतिक्रिया