राष्ट्रिय सभाले आज नयाँ अध्यक्ष पाउँदै

  मङ्गलबार २९, फागुन २०८० ०६:४१

काठमाडौं । आज राष्ट्रिय सभाले नयाँ अध्यक्ष पाउँदै छ । अध्यक्ष पदको मतदानका लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभा बैठक बोलाइएको छ । 

राष्ट्रिय सभा अध्यक्ष पदको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभा नियमावलीअनुसार एउटा मात्रै प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ तर, दुई वटा प्रस्ताव दर्ता भएकाले दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने छन् । 

बैठकमा दुवै प्रस्तावमाथि सङ्क्षिप्त छलफल हुने छ र त्यसपछि अध्यक्षता गर्नेले सबै प्रस्तावलाई क्रमशस् निर्णयार्थ प्रस्तुत गर्ने छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ सदस्यको पदावधि गएको फागुन २० गते सकिएको थियो । 

राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अंकगणित छ । 

५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धनतर्फ माओवादीका १७, एमालेका १०, नेकपा एसका ८ र जसपाका ३ गरी ३८ सदस्य छन् । अर्कोतिर कांग्रेसको १६, र लोसपाका एक सांसद मात्रै छन् ।

clock मङ्गलबार २९, फागुन २०८० ०६:४१

प्रतिक्रिया