संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई एन्फाले गर्‍यो कारबाही

  सोमबार ११, बैशाख २०८० १६:५७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संकटा, मछिन्द्र, खुमलटार र एपीएफलाई जरिवाना सहित कारबाही गरेको छ ।

एन्फाका अनुसार जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आचारसंहिता उल्लङ्घन गरेको भन्दै संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लब र क्लबका पदाधिकारीहरूलाई कारबाही गरिएको हो ।

एपीएफ क्लबविरुद्धको खेल सुरु हुन ढिलो गराएको भन्दै संकटालाई १० हजार जरिवाना तोकिएको छ । ‍यसैबीच सोही खेलको दोस्रो हाफ सुरु हुन ढिलो गराएको भन्दै एपीएफ क्लबलाई ५ हजार जरिवाना गरिएको छ ।

एपीएफका पदाधिकारी जिवेश पाण्डेलाई मैदानमा प्रवेश गरी खेल ढिलो गराएको भन्दै ८ खेलका लागि प्रतिवन्ध लगाइनुका साथै म्याच अफिसियल ज्ञ्यान बहादुर मोक्तानमाथि हातपात गरेकोमा १० हजार जरिवाना तोकिएको छ ।

मछिन्द्रविरुद्धको खेलपश्चात ड्रेसिङ रुमको कुर्सी भाँचेको आरोपमा खुमलटारलाई १० हजार रुपैया र न्यूरोड टिमविरुद्धको खेलका क्रममा रेफ्रीमाथि आक्रमण गरेको भन्दै मछिन्द्रलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

clock सोमबार ११, बैशाख २०८० १६:५७

प्रतिक्रिया