गौरीगंगा गोल्डकपः फारवेष्ट पशुपति सेमिफाईनलमा

  आइतबार २७, फागुन २०८० २०:२५

धनगढी । कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप२०८० मा फारवेष्ट पशुपति युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लब अन्तिम चारमा पुगेको हो । फारवेष्ट पशुपतिले बाजुराको रानीवन युवा क्लबलाई ३–२ ले हराएको हो । 

फारवेष्टको जितमा शिशिर केसी, विवेक शाही र सन्दीप धामीले एक एक गोल गरे । रानीवनका लागि श्याम बयलीले दुई गोल गरे । फारवेष्टका शिशिर केसी म्याच अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाए । 

आजको खेलसँगै सेमिफाईनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत भोली पहिलो सेमिफाईनल खेलमा स्टार सिटी ब्वाईज युनियन र फारवेष्ट एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । पर्सिको दोस्रो सेमिफाईनलमा फारवेष्ट पशुपति युवा क्लबले आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको सामना गर्नेछ ।

कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ । 
 

clock आइतबार २७, फागुन २०८० २०:२५

प्रतिक्रिया