एकीकृत समाजवादी पनि सरकारमा जाने, मन्त्रालयबारे छलफल जारी

  बुधबार २३, फागुन २०८० १५:२३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा जाने भएको छ। बुधबार दिउँसो केन्‍द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय भएको बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए।

चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीलाई २ मन्त्रालय दिने टुंगो लागेको छ। बैठकमा सहभागी एक नेताले भने,‘सरकारमा जानेबारे सकरात्मक छलफल भइरहेको छ। हामी कुन-कुन मन्त्रालय लिने र कसलाई मन्त्रीमा पठाउने भन्ने छलफल गरिरहेका छौं। अहिले हामी गृहकार्यमा जुटेका छौं।’ 

एकीकृत समाजवादीले प्रदेशको हकमा पनि शर्त राख्ने तयारी गरेको छ। बैठकमा नयाँ गठबन्धन बन्दा यस पटकपनि आफ्नो पार्टीसँग कुनै सरसल्लाह नगरी नयाँ गठबन्धन बनाएर, मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति नेताहरुले असन्तुष्ट व्यक्त गरेका छन्। 

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरण फेरिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ।  

यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड", एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वरस्थित माधव कुमार नेपालको घरमा पुगेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली(प्रचण्डसँग भेटेर थप शर्तबारे कुरा गर्ने बताइएको छ। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्। 

clock बुधबार २३, फागुन २०८० १५:२३

प्रतिक्रिया