सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन

  बुधबार २३, फागुन २०८० १३:०६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका  नेता मनबहादुर धामीले जानकारी दिए ।  

मुख्यमन्त्री कमल बहादुर शाहले हिजाे माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज बसेकाे माओवादी केन्द्रकाे संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे ।


मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।

सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै रहेको छ । अहिले सम्म कांग्रेस सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ ।

यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँका मुख्यमन्त्री कमल बहादुर शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिँदा सम्म २९ सांसदको समर्थन देखिन्छ ।

clock बुधबार २३, फागुन २०८० १३:०६

प्रतिक्रिया