लागुऔषध दुर्व्यसन रोक्न युवाहरू एकजुट हुनुपर्छ: उपप्रमुख राना

  मङ्गलबार २२, फागुन २०८० ०७:०२

धनगढी । लागुऔषध दुर्व्यसन रोक्न युवाहरूले एकजुट भएर काम गर्नुपर्ने बताइएको छ। सोमवार धनगढीको राष्ट्रिय तुलसीराम माविमा आयोजित लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम बोल्दै धनगढीकी नगर उपप्रमुख कन्दकलाकुमारी रानाले युवाहरूले जनचेतना जगाए लागुऔषध दुर्व्यसनीको संख्या ह्वात्तै घट्ने बताएकी हुन्। उनले युवाहरूको सार्थक पहलले दुर्व्यसनमा फसेकाहरू सामान्य जीवनमा फर्किने र नयाँ दुर्व्यसनी समाजमा देखा नपर्ने बताइन्।

रानाले कटक भण्डारी फाउन्डेसनले आयोजना गरेको लागुऔषध विरुद्धको सचेतना कार्यक्रममा धनगढी उपमहानगरपालिकाले दुर्व्यसनमा परेकाहरूलाई सामान्य जीवनमा फर्काउन फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा ल्याउन पहल गरेको बताइन्।

तुलसीराम माध्यमिक विद्यालयमा गरिएको कार्यक्रममा लागुऔषधको विगतमा सेवनकर्ता रहेका तर अहिले सामान्य जीवनमा फर्किएका विकास चौधरीले आफूले दुर्व्यसनमा पर्दाको भोगाइ बारे विद्यार्थीलाई बताएका थिए। चौधरीले दुर्व्यसनमा नफस्न आग्रह गर्दै देखासिखीमा नलाग्न आग्रह गरेका थिए। दुर्व्यसनको दुष्परिणाम दुर्व्यसनी स्वयं र परिवारका लागि निकै पीडादायी हुने चौधरीले बताएका छन्।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले वडा तहमा पनि लागुऔषध विरुद्ध कार्यक्रम गर्ने बताएका छन्। उनले लागुऔषध विरुद्ध एक भएर लाग्न विद्यार्थीहरूलाई आग्रह गरे। खड्काले  घरघरमा लागुऔषध विरुद्ध सचेतना जगाउनुपर्ने र लागुऔषधमा लाग्न किन नहुने भन्ने कुरा विद्यार्थीले बुझेको र अरुलाई पनि बुझाउनुपर्ने बताए।

सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक वेदप्रसाद जोशीले लागुऔषधको उत्पादन, ओसारपसार र बिक्री वितरणमा संलग्न भएको अवस्थामा हुने कानुनी  दण्ड सजाय र सरकार तथा प्रहरीबाट रोकथामका प्रयासबारे प्रकाश पारेका थिए।

यसैगरी, निङ्गलासैनी संस्कृत गुरूकुलका संस्थापक खगेन्द्रप्रसाद  अवस्थीले लागुऔषध सेवनकर्तालाई मृत्यु पश्चात् पनि दुस्ख पाउने बताएका छन्। उनले लागुऔषधको कुलतबाट टाढै रहन विद्यार्थीहरूलाई आग्रह गरेका छन्।
कार्यक्रममा बाजुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले संगत गर्दा ध्यान दिनुपर्ने बताएका छन्। उनले असल साथीको संगत गर्नुपर्ने र कुलतमा नलाग्न आफैं सजग र सचेत हुनुपर्ने बताएका छन्।

कुलतमा फस्दाका समस्या अनगिन्ती भएकाले कुनै पनि हालतमा कुलतमा फस्नबाट सबैले बच्नुपर्ने धारण विद्यार्थी यमुना बमले राखिन भने अर्का छात्र चक्र गड्सिलाले लागुऔषधमा फस्ने जोखिमको उमेर आफूहरूको भएकाले सचेतना कार्यक्रमले सहयोग थप जिम्मेवार हुन प्रेरित गरेको बताए। उनले लागुऔषधको दूरगामी असर र कहिले पनि दुर्व्यसनमा फस्न हुन्न भन्ने कुराको सिकाइ भएकाले आयोजकलाई धन्यवाद दिएका छन्।

आयोजक कटक भण्डारी फाउन्डेसनका अध्यक्ष गणेश भण्डारीले युवा अवस्था भनेको राम्रो कुरा सिक्ने, जान्ने र गर्ने उमेर हो तसर्थ कुलतमा लाग्ने कुराबाट टाढा हुनुपर्ने कुरामा जोड दिए। उनले जिम्मेवार नागरिकक रुपमा जीवनको अमूल्य समय उत्कृष्ट काममा लगाउन र कुलतमा नफस्न सबैलाई आग्रह गरेका थिए।

clock मङ्गलबार २२, फागुन २०८० ०७:०२

प्रतिक्रिया