आज नेपाल र साउदी अरेबिया भिड्दै

  सोमबार ११, बैशाख २०८० ०७:३०

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियासँग खेल्दैछ। यी दुईबीचको खेल विहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने छ। नेपालले मुलपानी क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको हो। नेपालले यस प्रतियोगितामा खेलेका यसअघिका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ। 

पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। साउदी अरेबियाले भने यसअघि खेलेका दुई खेल मध्ये एकमा जित र एकमा हार बेहोरेको छ। साउदी अरेबियाले कतारलाई पराजित गरेको थियो भने मलेसियासँग हार बेहोरेको थियो। आज टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत बहराइन र हङकङबीच खेल हुने छ।

हङकङले यसअघि खेलेका दुवै खेल जितेको छ। हङकङले युएई र सिंगापुरलाई पराजित गरेको थियो। त्यस्तै बहराइनले भने एक जित र एक हार बेहोरेको छ। बहराइनले सिंगापुरलाई पराजित गरेको थियो भने कुवेतसँग हार बेहोरेको थियो। १० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन्।

समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन्। विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ।  

clock सोमबार ११, बैशाख २०८० ०७:३०

प्रतिक्रिया