गठबन्धन फेरिएपछि अन्योलमा एकीकृत समाजवादी, गतिविधि हेरेर निर्णय लिने

  सोमबार २१, फागुन २०८० १४:०३

काठमाडौं । नेकपा एमालेसहितको नयाँ सत्ता समीकरण निर्माणपछि एकीकृत समाजवादी अन्योलमा परेको छ। एमालेबाटै विद्रोह गरेर बनेको एकीकृत समाजवादी कांग्रेस–माओवादी गठबन्धन हुँदा सरकारमा थियो। 

तर अहिले एमालेसहितको नयाँ समीकरण बनेपछि भने यो पार्टी अन्योलमा परेको हो। गत वर्ष पुस १० मा एमालेसहितको गठबन्धन बन्दा पनि सरकारबाहिरै रहेर एकीकृत समाजवादी फागुनमा कांग्रेस सहितको गठबन्धन ब्यूँतिएपछि भने सामेल भएको थियो। 

अहिले एकाएक सत्ता गठबन्धन परिवर्तन भएको राजनीतिक परिस्थिति आफूहरूका लागि अनपेक्षित भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले प्रतिक्रिया दिए। यसबारे आफूहरूसँग कुनै छलफलसमेत नभएको उनले बताए।

‘अहिलेको राजनीतिक घटनाक्रम हाम्रो लागि अनपेक्षित थियो’, उनले भने, ‘हामीसँग कुनै सरसल्लाह नगरी सबै घटनाक्रम अघि बढाइयो।’

उपमहासचिव खतिवडाले अब आगामी दिनमा के कसरी नयाँ गठबन्धन अघि बढ्छ, त्यसलाई हेरेर आफूहरूले उपयुक्त सयमा उपयुक्त निर्णय लिने बताएका छन्।  

clock सोमबार २१, फागुन २०८० १४:०३

प्रतिक्रिया