वाफ महिला फुटबल : नेपाल जोर्डनसँग टाइब्रेकरमा स्तब्ध

  शुक्रबार १८, फागुन २०८० ०८:१०

काटमाडौँ । नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको छ । 

साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा बिहीबार राति सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल पेनाल्टी सुटआउटमा पुगेर स्तब्ध बनेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको खेलको निर्णय पेनाल्टी सुटआउट (टाइब्रेकर) बाट लिईएको थियो । हारसँगै नेपाल पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट बञ्चित भयो । जोर्डन भने छैटौँ पटक च्याम्पियन बन्यो । 

टाइब्रेकरमानेपालका लागि गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गर्नुभयो । अमृता जैसीको प्रहारलाई जोर्डनकी गोलकिपर शरिन अल सलाबेले सजिलै बचाउनुभएको थियो । जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गर्नुभयो । 

यसअघि २९औँ मिनेटमा सविता रानामगरले गोल गर्दै नेपालको उत्साह बढाउनुभएको थियो । खेलको दोस्रो हाफ रोमाञ्चक बन्यो । ७४औँ मिनेटमा जोर्डनकी लिना फरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ८९औँ मिनेटमा सारा अबु सबाले गोल गर्दै जोर्डनलाई २–१ गोलको अग्रता दिलाउनुभयो । 

इन्जुरी समयमा गीता रानाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई पुन: २–२ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकियो । जहाँ नेपाल अभागी सावित भयो । नेपालले आमन्त्रित टोलीको रुपमा पहिलो पटक यस प्रतियोगिता खेलेको हो । 

clock शुक्रबार १८, फागुन २०८० ०८:१०

प्रतिक्रिया