वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै, साम्बा नखेल्ने

  बिहिबार १७, फागुन २०८० ०७:१४

काठमाण्डौ । वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । मंगलबार लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो  ।

जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

साम्बा नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने बताएको हो ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने भएकाले उनी फाइनल खेलमा उपलब्ध नहुने जानकारी दिएको छ । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।

नेपाली टिम :
गोलकिपर :- एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर । 
डिफेन्डर :- गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी ।
मिडफिल्डर :- अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल ।
फरवार्ड :- चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।
 

clock बिहिबार १७, फागुन २०८० ०७:१४

प्रतिक्रिया