धनगढीका विष्ट र साउदलाई क्यानको प्राविधिक र विकास समितिको जिम्मेवारी

  सोमबार १४, फागुन २०८० १८:१३

धनगढी । नेपाल क्रिकेट सघं (क्यान) ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ। क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको छ।

केन्द्रीय सदस्य घले तीन दशकदेखि क्रिकेटमा सक्रिय छन्। सन् २००५ मा नेपालमा आयोजना भएको एसिसी यू(१९ प्रतियोगिताको संयोजक भएका घलेले त्यसयता विभिन्न प्रतियोगितामा नेपाली टिम र प्रतियोगिताको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए।

क्यानले केन्द्रीय सदस्य विक्रम विष्टलाई प्राविधिक समितिको संयोजक तोकेको छ। कैलालीका विष्ट लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय छन्।

यस्तै पूर्व खेलाडी तथा क्यान केन्द्रीय सदस्य धिरेन्द्र सावद विकास समितिको संयोजक तोकिएका छन्। धिरेन्द्रले सुवास शाहीसँग मिलेर १२ धनगढी क्रिकेट एकेडेमी स्थापना गरेका थिए। हालको केन्द्रीय समितिमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए।

महिला क्रिकेट विकास समितिको संयोजकमा दाङका प्रदिप मजगैया बनाउने निर्णय भएको छ। केन्द्रीय सदस्य मजगैयामा अहिले दाङ क्रिकेट लिग(२ सञ्चालन गर्ने तयारीमा छन्।

clock सोमबार १४, फागुन २०८० १८:१३

प्रतिक्रिया