विश्वकप लिग–२ : पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै

  बिहिबार ०३, फागुन २०८० ०६:५६

काठमाडौं । आईसीसी  क्रिकेट विश्वकप लिग–२ को (२०२३-२०२७) को साइकलको सिरिज आजदेखि सुरु हुँदै छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो।

आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९-२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग– २ मा ८ देश खेलिरहेका छन्।

जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। आईसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

क्रिकेट विश्वकप लिग–२ को २०२३-२०२७ साइकलको सुरुवात नेपालबाट हुँदै छ। आजदेखि काठमाडौंमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको सुरुवात गर्दै छन्।

आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुँदै छ। यो खेल नेपाली समय अनुसार बिहान ९: १५ बजेदेखि हुँदै छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्वजनिक गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो।

क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ। लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन्।

लिग–२ को सिरिज खेल्ने नेपाली टिम 

रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।

clock बिहिबार ०३, फागुन २०८० ०६:५६

प्रतिक्रिया