शिखर नगरपालिकाले सुरु गर्‍यो ‘असल अभिभावकसँग नगर सरकार’ कार्यक्रम

  बुधबार २४, माघ २०८० ०६:१९

डोटी । डोटीको शिखर नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नका लागि अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । शिक्षण सिकाई उपलव्धी कमजोर भएका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

परीक्षामा कमजोर नतिजा ल्याउने विद्यालय छनोट गरेर विद्यालय सुधार योजना अन्तरगत “असल अभिभावकसँग नगर सरकार” कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख शेरबहादुर कार्कीले जानकारी दिए ।

जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीचको अन्तरक्रिया तथा छलफलबाट विद्यालय सुधारको योजना निर्माण गरी कार्यान्वयन गरिने कार्कीले बताए । अन्तरक्रिया कार्यक्रमको सुरुवात वडा नं। ७ मा रहेको लाटामाण्डौं माविबाट गरिएको छ ।

कार्यक्रममा विद्यालयको शैक्षिक र भौतिक अवस्था, समुदाय र विद्यालयबीचको सम्बन्ध तथा सुधार गर्नुपर्ने पक्षहरूका विषयमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुझावहरू दिएका छन् । शिक्षाको गुणस्तरमा सुधार ल्याउन समुदाय र विद्यालयबीचको सम्बन्ध राम्रो हुनु पर्ने स्थानीय पदम बलायर बताए ।

बालाबलिकाहरुको सिकाई स्तर कमजोर भएको भएको भन्दै अभिभावक जगुली विकले गुनासो पोखिन् । उनले भनिन् ‘हामी अनपढ छौँ, आर्थिक अवस्था कमजोर छ, तर पनि बालाबालिकाहरुलाई नियमित विद्यालय पठाउने गरेका छौँ । यति गर्दा पनि बालबालिकाको पढाइ राम्रो छैन ।’ उनी दिनभर विद्यालय पठाएका बच्चाहरूको पढाई राम्रो नभएको सुनेपछि आफूलाई पनि दुःख लाग्ने गरेको बताउँछिन् ।

पढाइको स्तर कमजोर हुनुमा अभिभावको दोष देख्छन् कक्षा १० मा अध्ययनरत विद्यार्थी कपिल भट्ट । ‘विद्यार्थीहरू पढाइमा कमजोर हुनु, विद्यालयको शैक्षिक गुणस्तर राम्रो नहुनु र भएका भौतिक संरचनाहरू कमजोर हुँदै जानुमा अभिभावकको कमजोरी छ’ भट्ट भन्छन् ‘स्थानीयले विद्यालय क्षेत्रमा हो हल्ला गर्ने, भौतिक संरचनामा क्षति पुर्‍याउने र विद्यालयप्रति चासो नदिने गरेका छन् ।’

विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नौन्यालले विद्यालयको शैक्षिकस्तर कमजोर हुँदै जानुमा समुदाय र विद्यालय उत्तिकै जिम्मेवार रहेको बताए । ‘समुदायबाट शिक्षक र भौतिक संरचना सुरक्षित छैनन्, विद्यालयलाईमाथि उठाउन समुदायको चासो छैन’ प्रधानाध्यापक न्यौन्याल भन्छन् ‘अभिभावकहरू राजनीतिक धारणा ल्याएर विद्यालय प्रवेश गर्नुहुन्छ, विद्यालय बनाऊँ, यसलाई सुधार गरौँ भनेर कसैले चासो देखाउँदैनन् ।’

कमजोर विद्यालयहरूको शैक्षिकस्तर उकास्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको शिखर नगरपालिकाका प्रमुख दीर्घवहादुर बलायरले बताए ।

‘विद्यालय सुधारका लागि नगरपालिकालाई समुदाय, अभिभावक र शिक्षकको साथ चाहिएको छ’ नगर प्रमुख बलायरले भने ‘नगरपालिकाले तत्कालै दरबन्दी मिलान, विद्यालय समायोजन, विद्यालयमा नगर सरकार लगायतका थुप्रै कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ ।’ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाबाट कुनै कसर बाँकी नराख्ने दाबी गरे । उनले शिक्षा क्षेत्रमा सुधारमा लागि समुदायले पनि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नगर उपप्रमुख सुनिता रावल जोराले विद्यालयको शैक्षिकस्तर सुधारका लागि सबैको चासो हुनु पर्ने बताइन् ।

‘यो अन्तरक्रियाले विद्यालयको खास अवस्थाका बारेमा जानकारी भएको छ’ उपप्रमुख जोराले भनिन् ‘अभिभावक, विद्यार्थी र शिक्षकको गुनासो सुझाव सुनिएको छ, यसले पक्कै पनि विद्यालय परिवर्तन गर्ने छ ।’ नगरका अन्य कमजोर देखिएका विद्यालयहरूमा पनि यो कार्यक्रमलाई विस्तार गर्ने जोराले बताइन ।

clock बुधबार २४, माघ २०८० ०६:१९

प्रतिक्रिया