सेती नदीमा जोखिमपूर्ण वारपार गर्दै बझाङका स्थानीय

  सोमबार १५, माघ २०८० ०८:०३

बझाङ । दुई वर्षअघि अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका जोड्ने देउरास्थित झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई खोला वारपार गर्न जोखिम भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माणका लागि ठेक्का लगाएको एक वर्ष बितिसक्दा पनि निर्माण सुरु नहुँदा स्थानीयले यस्तो समस्या भोग्दै आएका हुन् । 

हिउँदको समयमा दुई वटै पालिकाले सेती नदीमा काठेपुल निर्माण गर्दै आएका छन् । वर्षाको समयमा भने पानीको बहाव बढ्ने र निर्माण गरेको अस्थायी काठेपुल बगेर जाने भएकाले सर्वसाधारणलाई नदी वारपार गर्न कठिन हुने गरेको छ । देवभूमि कन्स्ट्रक्सन अमरगढीले एक करोड ५० लाख रुपियाँमा सो पुल बनाउने जिम्मा पाएको थियो तर सो पुल बनाउने काम सुरु हुन सकेको छैन् । 

झोलुङ्गे पुलको शिलान्यास लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गर्नुभएको थियो । हिउँदमा काठेपुलमा समेत भारी बोकेर वारपार गर्दा जोखिम मोल्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । त्यस क्षेत्रको मुख्य बजार देउरा रहेकाले पनि छिमेकी जिल्ला डोटी र थलारा गाउँपालिकाका नागरिकले समेत पुल नहुँदा दुःख र सास्ती खेप्दै आएका छन् । 

पुरानो झोलुङ्गे पुल बाढीले बगाएपछि केदारस्युँ गाउँपालिकामा रहेको बेताल माविमा पढिरहेका विभिन्न गाउँका ९० भन्दा बढी बालबालिकालाई आउन जान कठिन भएको छ । विद्यार्थी जोखिम मोलेर सेती नदीको काठेपुलबाट ओहोरदोहोर गर्ने गरेको थलारा गाउँपालिका–१ का बासिन्दा लालबहादुर बोहराले बताउनुभयो । 

बर्सातमा सेती नदीमा पानीको सतह बढ्नेबित्तिकै थलारा र केदारस्युँका बालबालिकालाई स्कुल जान कठिन हुने उहाँको भनाइ छ । पुल नहुँदा उपभोग्य सामग्री किन्न, बिरामीलाई स्वास्थ्य चौकीमा लैजान पनि कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ । केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पद्मराज उपाध्यायले पुलका विषयमा पटक पटक ठेकेदारसँग समन्वय गरेर काम छिटो गर्न अनुरोध गर्दा पनि सफल नभएको बताउनुभयो । गोरखापत्रबाट

clock सोमबार १५, माघ २०८० ०८:०३

प्रतिक्रिया