गठबन्धन दलहरु काम गर्न नदीएर राजीनामा दिन बाध्य बनाउँदैछन – नगर प्रमुख हमाल

  शनिबार ०६, माघ २०८० २१:१०

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई गठबन्धनका दलहरु काम गर्न नदीएर राजीनामा दिन बाध्य पार्न लागि परेको आरोप लागेको छ। नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा सहभागी नहुने रणनीति बनाएका काँग्रेस र माओवादीका वडा अध्यक्षहरूले असहयोग गर्दै अन्त्यमा राजीनामा दिन बाध्य पार्ने योजना बनाएका हुन्। 

काँग्रेस र माओवादीबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूले नगर प्रमुख हमाल सहभागी कुनै पनि कार्यक्रममा आफूहरू अनुपस्थित रहने अनौपचारिक निर्णय गरेको बुझिएको छ। ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ नगर सभाबाट पारित भएदेखि रुष्ट भएका नेपाली काँग्रेस र माओवादी पार्टीबाट विजयी जनप्रतिनिधिहरुले नगर प्रमुख हमाललाई असहयोग गर्दै आएका छन्। 

उनीहरुले नगर प्रमुख हमाल र उपप्रमुख कन्दकला कुमारी रानालाई असफल बनाउन मोर्चाबन्दी गरेको आरोप लागेको हो। गठबन्धन दलहरुको मोर्चाबन्दी रहेको स्वतन्त्रबाट विजयी  नगर प्रमुख हमालले बताए। धनगढीको फूलबारीमा नेपाल प्रहरी, श्रीमती संघले सञ्चालन गरेको आसरा सुधार केन्द्रको उद्घाटन कार्यक्रमदेखि उनीहरुले नगर प्रमुख सहभागी कार्यक्रमहरुलाई बहिस्कार गर्न सुरु गरेका हुन्। 

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुस ११ गते आसरा सुधार केन्द्र, फूलबारीको उद्घाटन गरेका थिए। नगर प्रमुख हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, एमालेबाट विजयी वडाध्यक्षहरु उक्त कार्यक्रममा सहभागी भए। तर, गठबन्धनका दलहरुबाट विजयी वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु कार्यक्रममा सहभागी भएनन्। सोही कार्यक्रमबाट उनीहरुले नगर प्रमुख हमाललाई राजीनामा गर्न बाध्य पार्ने अनौपचारिक निर्णय गरेको नगर प्रमुख हमालको दाबी छ।

शनिवार प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइ कार्यक्रममा समेत उनीहरु सहभागी नभएपछि सो विषय बाहिरिएको हो। यश अघि माघी मिलन कार्यक्रममा वडा अध्यक्षहरूले नगर प्रमुखलाई निम्तो दिएनन् भने नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि काँग्रेस र माओवादी वडा अध्यक्ष र सदस्यहरू सहभागी भएनन्।  नगर प्रमुख हमालले गठबन्धनका वडा अध्यक्ष र सदस्यहरू आफ्नो विरुद्ध मोर्चाबन्दीमा लागेको बताएका छन्। 

उनले भने, ‘उहाँहरुसँग बहुमत छ। सुरुवातमा के गर्न सक्ला र रु एक्लो छ भन्ने थियो। पछिल्ला दिनहरुमा राम्रो काम भयो। उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ। सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउदै हुनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत साबको  बिदाइको कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उद्घाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिस्कार गर्नु भएको हो।’

नगर प्रमुख हमालले गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिहरुले काम गर्ने वातावरण नदिएको बताएका छन्। उनले आज (शनिवार) सम्मको गरेर चार वटा कार्यक्रम गठबन्धनका दलहरुबाट विजयी जनप्रतिनिधिले बहिष्कार गरेको बताए। तर, काँग्रेस दलको नेतासमेत रहेका वडा नम्बर ४ का अध्यक्ष बुद्धीबहादुर खड्काले आफूहरूले मोर्चाबन्दी नगरेको बताए। 

उनले समय नभएकाले उपमहानगरका औपचारिक कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया  दिए। उनले भने, ‘अहिले कार्यक्रम पनि छैनन्। राष्ट्रपति रनिङ्ग शिल्डमा काँग्रेसबाट विजयी साथीहरु नभएको मलाई जानकारी छैन। हामीले निर्णय पनि गरेका छैनौँ। उहाँहरुको समय नभएकाले नजानु भएको होला। म बाहिर भएर, नगएको हो।’

clock शनिबार ०६, माघ २०८० २१:१०

प्रतिक्रिया